दुःखमा सहारा बनेको एक युवाको हात

दुःखमा सहारा बनेको एक युवाको हात

बिज्ञापन

नेपालगञ्जमा विगत धेरै वर्षदेखि एक युवा व्यक्तित्व चुपचाप समाजसेवामा सक्रिय छन्। न त उहाँ प्रचारको खोजी गर्नुहुन्छ, न त आफ्ना कामको चर्चा आफैँ गर्नुहुन्छ। तर उहाँका कार्यहरू भने धेरैका जीवनमा आशा, राहत र मुस्कान बनेर पुगेका छन्।

बिज्ञापन

कोरोना महामारीको कठिन समयमा अक्सिजन अभाव हुँदा आफ्नै आम्दानीबाट अक्सिजन सिलिन्डर उपलब्ध गराएर धेरै परिवारलाई राहत दिने काम भयो। अस्पतालका शय्यामा रहेका बिरामीहरूलाई भेटेर फलफूल वितरण गर्ने, आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरूलाई सहयोग गर्ने, रगत आवश्यक पर्दा रातदिन नभनी व्यवस्थापन गरिदिने जस्ता कार्यहरू निरन्तर भइरहे।

जाडोले कठ्याङ्ग्रिएको रातमा न्यानो कम्बल बोकेर असहायहरूको बीचमा पुग्ने, अनाथ आश्रमहरूमा आवश्यक सामग्री पुर्‍याउने, मस्जिद होस् वा मन्दिर, कुनै भेदभाव नगरी सहयोग गर्ने बानीले उहाँलाई सबै समुदायको प्रिय बनाएको छ।

बिज्ञापन

मानवताको सबैभन्दा भावुक दृश्य त त्यतिबेला देखियो, जब आर्थिक अवस्था कमजोर भएका परिवारले आफ्ना प्रियजनको अन्तिम संस्कारसमेत गर्न नसक्ने अवस्था आयो। त्यस्तो बेला मलामीदेखि किरिया–कर्मसम्मको सम्पूर्ण खर्च उठाएर दुःखमा परेको परिवारको काँध समातेको दृश्य धेरैले आफ्नै आँखाले देखेका छन्।

गत वर्ष अत्यधिक गर्मीका बेला बाटोमा हिँड्ने बटुवाहरूको तिर्खा मेटाउन निःशुल्क पानीको व्यवस्था गरिएको थियो। र यस वर्ष फेरि एउटा सानो तर अत्यन्तै अर्थपूर्ण अभियान सुरु भयो।

“एउटा सानो प्रयास, बेजुबान जनावरहरूको तिर्खा मेटाउने उद्देश्यका साथ।”

चर्को घाम र अत्यधिक गर्मीमा पानीको एउटा भाँडो पनि जीवनको आधार बन्न सक्छ भन्ने सोचका साथ विभिन्न स्थानमा पानी राख्ने काम सुरु गरियो। बोल्न नसक्ने, आफ्नो आवश्यकता व्यक्त गर्न नसक्ने जीवहरूको पीडा बुझेर गरिएको यो कार्यले धेरैको मन छोएको छ।

यो केवल पानी राख्ने काम होइन। यो करुणा, दया, जिम्मेवारी र मानवताको सन्देश हो। युवाहरूले चाहे सानो कामबाट नै किन नहोस्, समाज र जीवजन्तुप्रति संवेदनशील बन्न सकिन्छ भन्ने सशक्त उदाहरण पनि हो।

आजको समयमा धेरैले समस्या देख्छन्, केहीले त्यसबारे कुरा गर्छन्, तर निकै कम मानिसहरू त्यहीँ पुगेर समाधान खोज्ने प्रयास गर्छन्। नेपालगञ्जमा यस्तै एउटा युवा शक्ति छ, जो जहाँ पीडा देख्छ, त्यहाँ सहयोग लिएर पुग्छ। जहाँ आशा टुट्न लाग्छ, त्यहाँ सहारा बनेर उभिन्छ।

र त्यो नाम हो…

नेपालगञ्ज वडा नं. ५ का युवा समाजसेवी अजीज मलिक

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु